काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीको दुई कित्ता सेयर उपलब्ध गराउने घोषणा गरेका छन्।
मस्कले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो योजना सार्वजनिक गरेका हुन्। यसअघि एक कित्ता सेयर दिने बताएका उनले नयाँ घोषणामार्फत उपहारको संख्या दोब्बर बनाएका छन्।उनका अनुसार प्रत्येक बालबालिकाले एउटा सेयर स्पेसएक्सको तर्फबाट र अर्को आफ्नो व्यक्तिगत तर्फबाट प्राप्त गर्नेछन्। मस्कले यसअघि अक्टोबर १९ मा आगामी वर्षदेखि बालबालिकालाई एक–एक कित्ता सेयर दिने प्रतिबद्धता जनाएका थिए।
१८ अर्ब डलरभन्दा बढी मूल्यको सेयर वितरण हुने अनुमान
अमेरिकी जनगणना ब्युरोको अनुमानअनुसार अमेरिकामा करिब ७ करोड २० लाख नाबालिग छन्। नोभेम्बर २५ मा स्पेसएक्सको प्रतिकित्ता सेयर मूल्य १२७.४४ डलरका आधारमा हिसाब गर्दा दुई कित्ता सेयर वितरण गर्न करिब १८ अर्ब ३५ करोड डलर आवश्यक पर्ने देखिन्छ।यो रकमले बालबालिकाका लागि सञ्चालित ‘ट्रम्प एकाउन्ट्स’ मा माइकल डेलले यसअघि गरेको योगदानको कीर्तिमानलाई समेत उछिन्नेछ। उक्त रकम उनको योगदानभन्दा करिब तीन गुणा बढी हुने अनुमान गरिएको छ।स्पेसएक्समा मस्कको ठूलो स्वामित्व रहेकाले करिब १४ करोड कित्ता सेयर वितरणले उनको कुल स्वामित्वमा उल्लेख्य असर नपर्ने विश्लेषण गरिएको छ।
स्पेसएक्सको सेयर मूल्यमा १३ प्रतिशत गिरावट
मस्कले सेयर उपहारको संख्या बढाउने घोषणा गरे पनि पछिल्लो समय कम्पनीको सेयर मूल्य भने घटेको छ। अक्टोबर १९ मा १४७.९६ डलर रहेको स्पेसएक्सको प्रतिकित्ता सेयर मूल्य नोभेम्बर २५ सम्म आइपुग्दा १२७.४४ डलरमा झरेको छ। यस अवधिमा सेयर मूल्य करिब १३ प्रतिशत घटेको हो।कृत्रिम बुद्धिमत्ता एआई क्षेत्रमा आबद्ध प्रविधि कम्पनीहरूको सेयरमा देखिएको बिक्री चापले स्पेसएक्सको मूल्यमा पनि प्रभाव पारेको बताइएको छ।
ट्रम्प एकाउन्ट्स मार्फत सेयर हस्तान्तरण गर्ने योजना
बालबालिकाको भविष्यका लागि सेयर उपलब्ध गराउने स्पेसएक्सको यो पहिलो योजना भने होइन। यसअघि गत जुलाईमा कम्पनीकी प्रमुख सञ्चालन अधिकृत ग्विन शटवेलले ‘ट्रम्प एकाउन्ट्स’ अन्तर्गत २० लाख बालबालिकाको खातामा एक–एक कित्ता स्पेसएक्स सेयर उपलब्ध गराउने घोषणा गरेकी थिइन्।मस्कको पछिल्लो योजनाअनुसार पनि अमेरिकाका सात करोडभन्दा बढी बालबालिकालाई कर सुविधायुक्त ‘ट्रम्प एकाउन्ट्स’ मार्फत सेयर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ। तर थप गरिएको दोस्रो कित्ता सेयर कहिलेदेखि वितरण गरिने भन्नेबारे उनले स्पष्ट समयसीमा सार्वजनिक गरेका छैनन्।