काठमाडौं ।मकवानपुरमा लगातार वर्षा भएपछि कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले जिल्लामा वर्षा जारी रहेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो व्यवस्था गरेको हो।प्रशासनले जारी गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकमार्गमा सवारीसाधन सञ्चालन गर्न पाइने छैन।निरन्तर वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने र सम्भावित दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले सूचना जारी गर्दै जोखिमपूर्ण समयमा यात्रा नगर्न र प्रशासनको निर्णयअनुसार मात्रै सवारी सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई सूचनाको पालना गरी सुरक्षित यात्रामा ध्यान दिन अनुरोध गरेको छ।