काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगी केन्द्रमा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा रहेका यस्ता केन्द्रबाट नेपाली नागरिकलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले हालसम्म उद्धार गरिएका नेपालीको सङ्ख्याबारे जानकारी दिएको हो।मन्त्रालयका अनुसार अनलाइन ठगीमा संलग्न समूहको प्रलोभनमा परेर नेपाली नागरिक विदेशमा अलपत्र पर्ने क्रम अझै रोकिएको छैन। पीडित तथा उनीहरूका परिवारले उद्धारका लागि मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छन्।
सम्पर्कमा आएका नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित देशका निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारी तथा अन्य अवसरको नाममा दिइने झुटा आश्वासनमा नपर्न र गैरकानुनी गतिविधिमा संलग्न नहुन पनि मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको छ।