काठमाडौं ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का १५औँ महासचिव मोहम्मद गोलाम सरवार आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्।
सन् २०२३ नोभेम्बरमा महासचिव नियुक्त भएका सरवारले तीन वर्षे जिम्मेवारी पूरा गरेपछि बङ्गलादेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।बङ्गलादेशका कूटनीतिज्ञ सरवारले कार्यकालमा सार्कको सक्रियता बढाउन र लामो समयदेखि रोकिएको शिखर सम्मेलन अघि बढाउन नसकेको भन्दै उनको कार्यसम्पादनमाथि प्रश्न उठ्दै आएको छ। सन् २०१४ यता सार्क शिखर सम्मेलन हुन सकेको छैन।सार्कको महासचिव पदमा बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सरवार तेस्रो कूटनीतिज्ञ हुन्। सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवामा प्रवेश गरेका उनले मलेसिया, ओमान र स्वीडेनमा राजदूतका रूपमा काम गरेका थिए। त्यस्तै, क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङ्टन डीसीमा पनि कूटनीतिक जिम्मेवारी सम्हालेका थिए।
यसैबीच, सार्कको १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे नियुक्त भएका छन्। उनी छिट्टै काठमाडौं आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।सार्कको वर्णानुक्रममा आधारित नेतृत्व चयन परम्पराअनुसार यसपटक अफगानिस्तानको पालो भए पनि तालिबान नेतृत्वको सरकारलाई सदस्य राष्ट्रहरूले औपचारिक मान्यता नदिएका कारण बङ्गलादेशले अवसर पाएको थियो। त्यसपछि पनि अफगानिस्तानलाई महासचिवको जिम्मेवारी नदिई भुटानका प्रतिनिधिलाई नियुक्त गरिएको छ।