काठमाडौं ।भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा विकसित चक्रवातको प्रभाव देखिन थालेसँगै ओडिशासहित आसपासका क्षेत्रमा सतर्कता बढाइएको छ।
चक्रवातका कारण तीव्र हावाहुरी, भारी वर्षा र तटीय क्षेत्रमा डुबानको जोखिम बढेको छ भने नेपालमा पनि आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात जमिनतर्फ प्रवेश गर्ने प्रक्रिया सुरु भएको हो। चक्रवातको प्रभावका कारण केही क्षेत्रमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको छ भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।
चक्रवातका कारण काकिनाडा र विशाखापट्टनम क्षेत्रमा रूख ढल्नुका साथै विद्युत्का तार चुँडिएका छन् र केही सडक अवरुद्ध भएका छन्। अनाकापल्ली र विशाखापट्टनमका विभिन्न स्थानमा भारी वर्षा भएको छ। समुद्रको सतह बढेर तटीय क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने चेतावनीसमेत दिइएको छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार टोली र आवश्यक उपकरण तयारी अवस्थामा राखिएका छन्। ओडिशाका दक्षिणी जिल्लाहरूमा भारी वर्षा र तीव्र हावाहुरी आउन सक्ने अनुमान गरिएको छ। जोखिमलाई ध्यानमा राखेर विभिन्न क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
चक्रवातले यातायात र शैक्षिक गतिविधिमा समेत असर पारेको छ। केही क्षेत्रमा विद्यालय बन्द गरिएका छन् भने चेन्नईबाट विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री जाने तथा ती सहरबाट चेन्नई फर्किने उडान रद्द भएका छन्। दक्षिण रेलवेले पनि केही रेल सेवा स्थगित गर्नुका साथै रेलको समय परिवर्तन गरेको छ। विमान सेवा कम्पनीहरूले यात्रुलाई विमानस्थल जानुअघि उडानको पछिल्लो अवस्था जाँच गर्न अनुरोध गरेका छन्।यसैबीच, चक्रवातको प्रभाव नेपालमा पनि देखिन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको माथिल्लो वायुमण्डलमा बादल प्रवेश हुन थालेको छ। बुधबार केही स्थानमा हल्का वर्षा हुन सक्ने र बिहीबार साँझदेखि वर्षाको क्षेत्र तथा मात्रा बढ्न सक्ने सम्भावना छ।
महाशाखाले सार्वजनिक गरेको पाँचदिने मौसम पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। अन्य प्रदेशका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना औँल्याइएको छ।सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरिएको छ।