काठमाडौं । मोबाइल वालेट ‘खल्ती’को कर्मचारी भएको नाटक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आफू खल्तीको कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत मानिसहरूलाई सम्पर्क गर्ने गरेका थिए। उनीहरूले केवाईसी अपडेट गर्नुपर्ने, नत्र वालेट बन्द हुने, बैंक खाता वालेटमा जोडिदिने र कारोबारमा लाग्ने शुल्क हटाइदिने जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई विश्वासमा पार्ने गरेको बताइएको छ।
त्यसपछि उनीहरूले अडियो तथा भिडियो कलमार्फत स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोडसमेत लिने गरेको प्रहरीको भनाइ छ। यसरी प्राप्त विवरणको दुरुपयोग गर्दै बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गर्ने गरेको आरोप छ। पछिल्लो घटनाले मोबाइल वालेट प्रयोगकर्तालाई अपरिचित व्यक्तिसँग व्यक्तिगत विवरण, ओटीपी कोड तथा बैंकिङसम्बन्धी जानकारी साझा गर्दा सतर्क रहनुपर्ने देखाएको छ। प्रहरीले यस्ता प्रलोभनमा नपर्न र आफ्नो गोप्य विवरण सुरक्षित राख्न सचेत गराएको छ।