काठमाडाैँ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। चाडपर्वको समयमा निकुञ्ज खुला भएसँगै आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढेको हो।
निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार असोज २८ देखि कात्तिक ९ गतेसम्मको १३ दिनमा ५ सय ९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका छन्। तीमध्ये ५ सय ६० जना नेपाली, २३ जना सार्क मुलुकका र ७ जना अन्य विदेशी पर्यटक रहेका छन्। करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ठूलो सङ्ख्यामा बाह्रसिङ्गा एकै ठाउँमा देख्न पाइने पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। निकुञ्जमा २ हजार ३ सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटेबाघ, २० भन्दा बढी गैँडा र साढे ४ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ।
वर्षायाममा बन्द रहेको निकुञ्ज असोजको अन्तिम सातादेखि पुनः सञ्चालनमा आएपछि घुम्न आउनेको सङ्ख्या बढेको हो। विशेषगरी दशैँतिहारको बिदामा घर फर्किएका स्थानीय तथा अन्य जिल्लाबाट आउने पर्यटकको आकर्षण बढेको निकुञ्जले जनाएको छ। यसैगरी, कञ्चनपुरका महाकाली नदीमाथिको चार लेनको पक्की पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा समेत पर्यटकको चहलपहल बढेको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पर्यटकको सङ्ख्या बढ्दै गएकाले यातायात, आवास र सुरक्षामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्। प्राकृतिक सौन्दर्य र वन्यजन्तु अवलोकनका लागि परिचित शुक्लाफाँटा अहिले चाडपर्वको बिदा मनाउने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।