काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने हजारौँ सवारीसाधन कारबाहीमा परेका छन्।
एक महिनाको अवधिमा प्रहरीले ३ हजार ९०३ सवारीसाधनमाथि कारबाही गर्दै ३३ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार असोज महिनामा प्रदेशभर २३५ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३६३ जना घाइते भएका छन्। दुर्घटनामा ३२१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्क छ।
प्रहरीका अनुसार दुर्घटनामध्ये २०८ वटा चालकको कारणले भएका थिए भने छ वटा दुर्घटना मादक पदार्थ सेवनसँग सम्बन्धित थिए। त्यस्तै, सवारीसाधनको अवस्थाका कारण नौ, यात्रुका कारण एक, पैदलयात्रीका कारण दुई, चौपायाका कारण पाँच र सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएको जनाइएको छ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण कार्यक्रमसमेत सुरु गरेको विष्टले बताएका छन्।यस अवधिमा प्रहरीले भन्सार छली गरेर ल्याइएका सामानविरुद्ध पनि कारबाही गरेको छ। २४ जनालाई नियन्त्रणमा लिँदै करिब दुई करोड २० लाख छ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, प्राकृतिक सम्पदाको अवैध दोहनमा संलग्न पाँच जना र २८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। उक्त कारबाहीबाट तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको छ भने यससम्बन्धी घटनामा नौ जना पक्राउ परेको विवरण प्रहरीले दिएको छ।अवैध रूपमा वन पैदावार ओसारपसार गर्ने गतिविधिमाथि गरिएको कारबाहीमा ६२ क्युफिट काठ बरामद गरी तीन लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। यस्तै, अवैध पशुपन्छी नियन्त्रणसम्बन्धी कारबाहीबाट ११ लाख १२ हजार ३०० रुपैयाँ राजस्व प्राप्त भएको प्रहरीले जनाएको छ।