काठमाडौं ।धनकुटामा एक पुरुषले खुकुरी प्रहार गर्दा उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
धनकुटा नगरपालिका–६ पाङसिङ टोलका डम्बर कार्कीले मंगलबार आफ्नी श्रीमती तारा कार्कीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार घटना मंगलबार दिउँसो करिब १२ बजे भएको हो। घटनामा घाइते भएकी तारालाई सुरुमा जिल्ला अस्पताल धनकुटा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको वडाध्यक्ष मिलनकुमार खड्गीले जानकारी दिए।
खड्गीका अनुसार खुकुरी प्रहारबाट ताराको टाउको र ढाडमा गम्भीर चोट लागेको छ भने देब्रे हातको कान्छी औँला काटिएको छ।स्थानीयका अनुसार डम्बर करिब १३ वर्षदेखि बेपत्ता थिए। केही दिनअघि परिवारका सदस्यले उनलाई खोजेर घर ल्याएका थिए। घर फर्किएपछि उनले श्रीमतीलाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिने गरेको स्थानीयले बताएका छन्। उनले यसअघि पनि मादक पदार्थ सेवन गरेर श्रीमतीलाई धम्क्याउने गरेको उनीहरूको भनाइ छ।
घटनापछि डम्बर फरार रहेको प्रहरीले जनाएको छ।