काठमाडौं ।जोर्डनको एक ग्रीक अर्थोडक्स चर्चमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा सुरक्षा निकायले तीन जनालाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।सरकारी टेलिभिजनका अनुसार सोमबार विशेष अनुसन्धान टोली र सुरक्षा अधिकारीहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ गर्ने क्रममा सुरक्षाकर्मी र आरोपितबीच सशस्त्र झडपसमेत भएको र त्यसमा तीनै जना घाइते भएको बताइएको छ।अधिकारीहरूका अनुसार शुक्रबार काराक प्रान्तको हम्मौद गाउँस्थित सेन्ट जर्ज चर्च परिसरमा अन्त्येष्टि जुलुस चलिरहेका बेला बन्दुकधारीहरूले गोली चलाएका थिए। घटनापछि सुरक्षा निकायले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र उनीहरूको उद्देश्यबारे अनुसन्धान अघि बढाएको छ।
जोर्डनका गृहमन्त्री माजेन अल–फरायाले सामाजिक सञ्जालमार्फत आक्रमणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन्। युवाहरूलाई अतिवादतर्फ आकर्षित गर्ने परिस्थितिबारे पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।घटनाप्रति दुःख व्यक्त गर्दै राजा अब्दुल्लाह द्वितीयले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन्। उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा घटनामा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।प्रधानमन्त्री जाफर हसनले घटनापछि राष्ट्रिय शोक घोषणा गर्दै सरकारी तथा सार्वजनिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका थिए। शुक्रबारदेखि तीन दिनसम्म शोक मनाउने निर्णय गरिएको विवरणमा उल्लेख छ।
आक्रमणमा मृत्यु भएका नौ जनामध्ये आठ जनाको आइतबार चर्च नजिकै अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा तथा धार्मिक अगुवाहरू सहभागी भएका थिए।