काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको अपनत्व रहने साझा संस्थाका रूपमा विकास गर्न आग्रह गरेका छन्।
उनले चलचित्र क्षेत्रको प्रगतिका लागि बोर्डले ठोस र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन्।सोमबार मन्त्रालयमा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री तिमिल्सिनाले चलचित्रकर्मीहरूबाट बोर्ड सबैको साझा संस्था बन्न नसकेको गुनासो आउने गरेको बताए। वर्तमान सरकारबाट चलचित्र क्षेत्रले ठूलो अपेक्षा राखेको उल्लेख गर्दै उनले ती अपेक्षा सम्बोधन गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
मन्त्री तिमिल्सिनाका अनुसार चलचित्र निर्माण गर्नु सरकारको प्रत्यक्ष काम नभए पनि यसका लागि अनुकूल वातावरण तयार पार्ने, उपयुक्त नीति बनाउने र सिर्जनात्मक क्षेत्रलाई प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको हो। उनले सरकार र चलचित्रकर्मीबीच समन्वय गर्दै बोर्डले क्षेत्रको विकासमा काम गर्नुपर्ने बताए।
बोर्ड कुनै निश्चित समूह वा सीमित व्यक्तिको संस्थाका रूपमा बुझिने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। सबै चलचित्रकर्मीले बोर्ड आफ्नो साझा संस्था हो भन्ने अनुभूति गर्न सके संस्थाप्रतिको अपनत्व बढ्ने र काम गर्न सहज हुने उनले उल्लेख गरे।