काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा अन्य नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्।
पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै नेताहरूले विभिन्न जिल्लामा संगठनात्मक गतिविधि र राजनीतिक छलफल गर्ने कार्यक्रम तय गरिएको छ।नेता राजाराम बर्तौलाका अनुसार भ्रमण कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुनेछ। त्यसपछि टोली बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापा पुग्नेछ। झापामा भ्रमणको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिएका छन्।
भ्रमणका क्रममा देशको पछिल्लो राजनीतिक अवस्था, राप्रपाको वर्तमान भूमिका तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल र अन्तरक्रिया गरिने बताइएको छ।राप्रपाले ७५ जिल्ला अधिवेशन र पाँच प्रदेश कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। पार्टीले सदस्यता वितरण तथा नवीकरणका लागि कात्तिक १८ गतेसम्मको समयसीमा निर्धारण गरेको छ।पार्टीले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनअघि संगठनको अवस्था बुझ्न, नेता–कार्यकर्तासँग छलफल गर्न र पार्टीका गतिविधिलाई गति दिन जिल्ला भ्रमण गर्न लागिएको हो।