काठमाडौँ । म्यानमाको मन्डाले क्षेत्रमा बस र भ्यान एकआपसमा ठोक्किएर खोल्सामा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
म्यानमाको अग्नि सेवा विभागका अनुसार शनिबार साँझ करिब ६ बजेर ५ मिनेटमा पिन ओ ल्विनबाट मन्डालेतर्फ जाँदै गरेको एक्सप्रेस बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएको थियो।ठक्करपछि अनियन्त्रित बनेको बस सडकबाट करिब ५० फिट तल खोल्सामा खसेर पल्टिएको बताइएको छ। दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक तथा उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका थिए।
दुर्घटनामा भ्यान चालकसहित ६ जनाले ज्यान गुमाएका छन्। बसमा सवार २९ जनामध्ये पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।दुर्घटनामा परेका तथा हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको अग्नि सेवा विभागले जनाएको छ।