काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ।
आइतबार भएको खेलमा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको हो। ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २११ रन मात्र बनाउन सक्यो। यससँगै नेपालले शृङ्खलाको सुरुवात जितबाट गरेको छ।
यो जितसँगै आईसीसी विश्वकप लिग–२ को अंकतालिकामा नेपालको स्थान सुधार भएको छ। नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। यता क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। नेपालका लागि यो जित अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसर बनेको छ।