काठमाडौं ।ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित चारवर्षीय कार्ययोजना प्रस्तुत गरेकी छन्।
उनको योजनामा श्रम कूटनीति, आर्थिक सहकार्य र जलवायु परिवर्तनसम्बन्धी साझेदारीलाई प्राथमिकता दिइएको छ।मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो योजना प्रस्तुत गर्दै राणाले नेपाली श्रमिकको अधिकार, सुरक्षा र सीप अभिवृद्धिलाई विशेष महत्व दिने बताइन्।नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पक्ष रहँदै आएको उनले उल्लेख गरिन्। परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल ओमानमा करिब २५ हजार नेपाली कार्यरत छन्।
आर्थिक सम्बन्ध विस्तारका लागि ओमानको ‘भिजन २०४०’ सँग नेपालको विकास प्राथमिकतालाई जोड्ने प्रस्ताव पनि उनले अघि सारेकी छन्। कृषि, पर्यटन, नवीकरणीय ऊर्जा तथा नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने सम्भावनालाई कार्ययोजनामा समेटिएको छ।त्यसैगरी, जलवायु परिवर्तनका असर कम गर्न, जलस्रोतको व्यवस्थापन सुधार गर्न र विपद् जोखिम न्यूनीकरणमा दुवै देशबीच सहकार्य गर्न सकिने राणाको धारणा छ। ओमानले हरित ऊर्जा र जलस्रोत व्यवस्थापनमा हासिल गरेका अनुभवबाट नेपालले लाभ लिन सक्ने उनले बताइन्।
प्रस्तावित योजनाअनुसार सन् २०२७ मा सहकार्यको आधार तयार गर्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भावनायुक्त क्षेत्रमा कार्यक्रम अघि बढाउने र २०३० सम्म उपलब्धिलाई दिगो बनाउने लक्ष्य राखिएको छ।राणाले आफ्नो कार्यकालमा श्रमिकको हित संरक्षणसँगै व्यापार, लगानी र वातावरणीय सहकार्य विस्तारमार्फत नेपाल–ओमान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य प्रस्तुत गरेकी छन्।