काठमाडौं । बेलायतको गुप्तचर निकाय एमआई–५ का प्रमुख सर केन म्याकलमले रुस, इरान र कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगबाट बेलायतको राष्ट्रिय सुरक्षामा चुनौती बढ्दै गएको चेतावनी दिएका छन्।
उनका अनुसार पछिल्लो एक दशकमा विदेशी शक्तिबाट उत्पन्न सुरक्षा चुनौती चार गुणाले बढेको छ। रुसलाई उनले बेलायतका लागि सबैभन्दा प्रमुख आक्रामक चुनौतीका रूपमा उल्लेख गरेका छन्। त्यस्तै, इरानसँग सम्बन्धित गतिविधि यहुदी समुदायका स्थल तथा सैन्य अखडासम्म फैलिएको उनको भनाइ छ। लन्डनमा आयोजित वार्षिक सम्बोधनका क्रममा म्याकलमले रुसले प्रत्यक्ष सैन्य द्वन्द्वभन्दा साइबर आक्रमण, तोडफोड र गलत सूचना फैलाउनेजस्ता गतिविधिमार्फत युरोपेली देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताए। उनले यस्ता गतिविधिलाई ‘हाइब्रिड युद्ध’ का रूपमा व्याख्या गरे।
म्याकलमका अनुसार बेलायतबाट ठूलो सङ्ख्यामा रुसी जासुस निष्कासित भएपछि क्रेमलिनले आफ्ना उद्देश्य पूरा गर्न आपराधिक समूह तथा अन्य व्यक्तिलाई परिचालन गर्ने प्रयास गरिरहेको छ। यद्यपि, रुसले यस्ता आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। उनले इरानसँग सम्बन्धित गतिविधिमा पनि चिन्ता व्यक्त गरे। पछिल्लो एक वर्षमा इरानसँग सम्बन्धित गतिविधिका कारण ५० जना पक्राउ परेको उनले जानकारी दिए। बेलायतका यहुदी समुदाय र सैन्य संरचनालाई लक्षित गतिविधि बढेको उनको भनाइ छ।
एआईको दुरुपयोगबाट नयाँ सुरक्षा जोखिम
एमआई–५ प्रमुखले कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले साइबर सुरक्षा र आतंकवाद नियन्त्रणमा नयाँ चुनौती थपेको बताए। उनका अनुसार अतिवादी समूहले एआई प्रयोग गरेर प्रचार सामग्री तयार गर्ने, व्यक्तिलाई लक्षित गरी कट्टरपन्थी बनाउने सामग्री फैलाउने तथा आक्रमणको योजना बनाउन सक्ने जोखिम बढेको छ। उनले आतंकवादीहरूले निगरानी र आक्रमणको योजना सुधार्न एआई प्रयोग गर्ने प्रयास गरेको तथा एआईयुक्त ड्रोनले सुरक्षा चुनौतीलाई थप जटिल बनाएको उल्लेख गरे। एआईको दुरुपयोगबाट जैविक हतियारसम्बन्धी जोखिम बढ्न सक्ने चेतावनी दिँदै उनले बेलायतको गुप्तचर समुदायले यस विषयमा निगरानी र अनुसन्धान गरिरहेको बताए। सम्भावित जोखिमको वास्तविकता मूल्याङ्कन गर्न एमआई–५ ले एआई थ्रेट असेसमेन्ट सेन्टरसमेत स्थापना गरेको उनले जानकारी दिए।
दक्षिणपन्थी अतिवादप्रति पनि चिन्ता
म्याकलमले बेलायतमा चरम दक्षिणपन्थी आतंकवादको जोखिम बढिरहेको बताएका छन्। विशेषगरी आप्रवासनविरोधी र मुस्लिमविरोधी धारणाबाट प्रेरित केही गतिविधि आतंकवादी मनसायमा परिणत भइरहेको उनको भनाइ छ। उनका अनुसार इन्टरनेटको प्रभावका कारण कम उमेरका व्यक्तिसमेत अतिवादी विचारबाट प्रभावित हुने जोखिम बढेको छ। बेलायतको आतंकवादी खतरा स्तर यसअघि पाँच वर्षपछि पहिलोपटक ‘गम्भीर’ तहमा पुर्याइएको पनि उनले उल्लेख गरे।
उनले रुस, इरान र चीनसँग सम्बन्धित राष्ट्रिय सुरक्षा चुनौती तथा आतंकवाद नियन्त्रणका लागि बेलायतका सुरक्षा निकायले काम गरिरहेको बताए। बदलिँदो प्रविधि र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सम्भावित खतराको समयमै पहिचान र नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएका छन्।