काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम सामना गर्न बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा तयार गर्न प्रस्ताव गरेका छन्।
भारतको नयाँदिल्लीमा आयोजित बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। उक्त रूपरेखा निर्माणका लागि संयुक्त कार्यदल गठन गर्न पनि उनले सुझाव दिएको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा गृहमन्त्री गुरुङले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय कारोबार तथा साइबर अपराध नियन्त्रणमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए। उनले यस्ता चुनौतीको प्रभावकारी सामना गर्न सुरक्षित सूचना आदानप्रदान, आपसी समन्वय र संयुक्त प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।