काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। मङ्गलबार बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुनेछ।