काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भइरहेको मतगणनालाई छिटो सम्पन्न गर्न निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ।
हाल २३ वटा स्थानमा मतगणना भइरहेको निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालले जानकारी दिएका छन्।उनका अनुसार सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिले खसालेका करिब एक लाख ८४ हजार मतपत्र गणना गर्नुपर्नेछ। मतदाताको सङ्ख्या र विभिन्न समावेशी समूहका कारण मतगणना व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताएका छन्।कटुवालका अनुसार नेपाली जनसम्पर्क समिति, आदिवासी जनजाति समूह तथा सहमहामन्त्रीका महिला, खुला र पिछडिएको क्षेत्रलगायत विभिन्न समूहका मत छुट्टाछुट्टै स्थानमा गणना भइरहेको छ।
मतगणनाका लागि उपलब्ध भौतिक संरचनाको उपयोग भइरहेको र आवश्यक परे पार्टी कार्यालयबाहिर टेन्ट राखेर थप गणनास्थल बनाउने तयारीसमेत गरिएको उनले बताए।अघिल्लो महाधिवेशनमा मतगणना सम्पन्न गर्न करिब १२ दिन लागेको उल्लेख गर्दै कटुवालले यसपटक तीन दिनभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्। विभिन्न समावेशी समूह र पेसागत क्षेत्रको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने भएकाले प्रक्रिया जटिल भए पनि कामलाई तीव्रता दिइएको निर्वाचन समितिले जनाएको छ।