काठमाडौं ।भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीमा सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत असोज १८ गते भएको घटनामा करिब ८४ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका पाँचै जनालाई शनिबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ का २८ वर्षीय सिजल तामाङ, दोलखाको भीमेश्वर नगरपालिका–७ की २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौंका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटका ४५ वर्षीय जितबहादुर विश्वकर्मा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको भनिएका सुनका गहनासहित २ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बरामद सुनका गहनाको तौल ६ तोला ८९ लाल रहेको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।