काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत संखुवासभा जिल्ला सभापतिमा रामकुमार जिमी सर्वसम्मत चयन भएका छन्। शनिबार चैनपुरमा सम्पन्न जिल्ला अधिवेशनले जिमीलाई सभापतिको जिम्मेवारी दिएको हो।
जिमी नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजकसमेत हुन्। अधिवेशनबाट उनलाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरिएको नेपाली कांग्रेस संखुवासभाका पूर्वसचिव कुमारबाबु अधिकारीले जानकारी दिएका छन्। अधिवेशनले प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा कैलाश बिष्ट र क्षेत्र ‘ख’ को सभापतिमा बद्री घिमिरेलाई पनि सर्वसम्मत चयन गरेको छ।
अन्य पदाधिकारीको विवरण भने सार्वजनिक गरिएको छैन। अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गरिएको अधिकारीले बताएका छन्। पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित बनाउने र आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने प्रक्रियाअन्तर्गत जिल्ला अधिवेशन सम्पन्न भएको हो।