काठमाडौं ।कालीगण्डकी नदीको कटान र पहिरोका कारण क्षतिग्रस्त बनेको बेनी–जोमसोम सडकमा अस्थायी मार्ग बनाएर सवारी आवागमन सुरु गरिएको छ।
तर सडक साँघुरो, हिलाम्मे र जोखिमपूर्ण हुँदा यात्रु तथा चालकले अझै सास्ती खेपिरहेका छन्। सवारीसाधनको चाप बढेसँगै विभिन्न स्थानमा घण्टौँसम्म जाम हुने समस्या देखिएको छ।असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दी र मुस्ताङ जोड्ने कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। नदीले सडक कटान गरेका ठाउँमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो हटाएपछि बिहीबार साँझदेखि सवारी सञ्चालन गर्न थालिएको हो।सडक खुल्न थालेपछि उपल्लो मुस्ताङ तथा चीनको कोरला नाकाबाट भन्सार प्रक्रिया पूरा गरी आएका करिब पाँच सय मालवाहक कन्टेनर र ट्रक गन्तव्यतर्फ जान प्रतीक्षामा छन्। बेनीबाट मुस्ताङ जाने सवारीसाधनसमेत बढेकाले सडकमा जामको समस्या थपिएको छ।
दसैँ र जाडोयामलाई लक्षित गरी चीनबाट ल्याइएका कपडा, खाद्यान्न र फलफूल बोकेका गाडी लामो समय बाटोमै रोकिँदा व्यवसायी र चालक प्रभावित भएका छन्। विशेषगरी फलफूल बोकेका केही गाडीमा सामान बिग्रन थालेपछि व्यवसायीले थप आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था बनेको छ।बेनी–जोमसोम–कोरला सडक आयोजनाकी प्रमुख तेजस्वी शर्माका अनुसार सडक मर्मत भइरहेको अवस्थामा एकैपटक धेरै सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्यमा कठिनाइ भएको छ। प्रारम्भिक मर्मत गरिएको सडकमा सवारीसाधनको चाप र हिलोका कारण तिल्केनीचौरलगायत स्थानमा गाडी फस्ने समस्या देखिएको उनले बताइन्।
सडक आयोजनाका प्राविधिक विनोद पौडेलका अनुसार कुनौटा–पोखरेबगर खण्डको करिब १० किलोमिटर सडक सुधारको कामलाई तीव्रता दिइएको छ। असोज २६ गतेभित्र मर्मत सम्पन्न गरी आवागमन सहज बनाउने लक्ष्य राखिएको छ।सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न र खाना पकाउने ग्यासको आपूर्तिमा समेत समस्या भएको छ। विद्युत्, फोन तथा इन्टरनेट सेवामा पनि असर परेको जनाइएको छ। सडकको पूर्ण सुधार नहुँदासम्म स्थानीयको दैनिक जीवन र सामान ढुवानी सहज हुन कठिन देखिएको छ।
चीनसँगको व्यापारका लागि रसुवागढी नाका बाढीपहिरोका कारण बन्द रहेको र तातोपानी नाकाबाट पनि अपेक्षाअनुसार आवागमन हुन नसकेको अवस्थामा कोरला नाका महत्त्वपूर्ण विकल्प बनेको छ। तर बेनी–जोमसोम सडकको अवस्था सुधार नभएसम्म कोरलाबाट भित्रिएका सामान ढुवानी र यात्रु आवागमन सहज हुन नसक्ने देखिएको छ।