काठमाडौं। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दशैंको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्। उनले हालै आएको बाढीका कारण प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूसँग ऐक्यबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री अल्बानिजले आफ्नो सन्देशमा यस वर्षको दशैं नेपाली समुदायका लागि विगतका वर्षभन्दा फरक र पीडादायी अवस्थामा आएको उल्लेख गरेका छन्। बाढीबाट भएको क्षतिले नेपाली समुदायमा शोक र दुःख निम्त्याएको भन्दै उनले यस कठिन समयमा अष्ट्रेलियाली सरकार र नागरिकहरू नेपाली समुदायको साथमा रहेको बताएका छन्। उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका काममा आगामी महिनाहरूमा समेत साथ र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, बाढीपीडितको सहयोगमा जुटेका दाताहरू तथा नेपाली समुदायप्रति सद्भाव र समर्थन देखाउने अष्ट्रेलियाली नागरिकहरूको पनि प्रशंसा गरेका छन्। दशैंको अवसरमा प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायमा सुख, शान्ति, शक्ति र आशिष् प्राप्त होस् भन्ने कामना गर्दै विपद्को कठिन परिस्थितिमा पनि सबैलाई एकताबद्ध रहन शुभकामना दिएका छन्।