काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनमा सहभागी हुन गइरहेका १ हजार ५०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका गरी ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनको केन्द्र जन्तरमन्तर र आसपासका सडकमा ब्यारिकेड राखिएका छन्। संवेदनशील क्षेत्रहरूमा समेत निगरानी बढाइएको छ।
प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी तथा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी नेहा बोरासहित विभिन्न नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ। प्रदर्शन आयोजक क्रोच जनता पार्टी (सिजेपी) का नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो। चर्चित युट्युबर ध्रुव राठी र जन्तरमन्तर आसपास रहेका केही पत्रकारसमेत प्रहरीको नियन्त्रणमा परेको बताइएको छ।
सिजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेको हो। पार्टीका संस्थापक दिप्केका अनुसार सन् २०२४ यता करिब १३ करोड मतदाताको नाम सूचीबाट हटाइएको छ। पार्टीले यसअघि अक्टोबर २ मा मुम्बईमा पनि यही मागसहित प्रदर्शन गरेको थियो।
प्रहरीले आयोजकसँग प्रदर्शनका लागि आवश्यक अनुमति नभएको भन्दै जन्तरमन्तरमा भेला हुन रोकेको जनाएको छ। प्रदर्शनलाई लक्षित गर्दै दिल्ली मेट्रोका विभिन्न स्टेसनमा प्रवेश तथा निकास बन्द गर्ने निर्णयसमेत गरिएको थियो। सुरुमा ५७ स्टेसनमा लागू गर्ने भनिएको प्रतिबन्ध पछि घटाएर ४५ स्टेसनमा सीमित गरिएको थियो। सम्भावित ट्राफिक जामको कारण देखाउँदै रेलवेले नयाँदिल्ली र हजरत निजामुद्दिन स्टेसनमा पुग्ने केही रेल सेवा पनि रद्द गरेको थियो।
प्रदर्शनकारीमाथिको धरपकड र व्यापक सुरक्षा परिचालनको भारतका विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आलोचना गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै प्रहरी परिचालन र गिरफ्तारीबाट आफूहरू पछि नहट्ने बताएका छन्।
राहुलले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै गिरफ्तारी र दबाबको सामना गर्न तयार रहेको तर आन्दोलन नरोकिने सन्देश दिएका छन्। उनले युवादेखि राजनीतिक नेतासम्म सबैलाई पक्राउ गरे पनि आफूहरू पछि नहट्ने बताएका छन्।