काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा अन्य पदका उम्मेदवारको मत गन्ने तयारी पनि गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले विभिन्न समूहका सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्न लागेको हो।निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार, असोज २३ गते राति ९ बजेदेखि सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणना निरन्तर चल्नेछ। यससँगै अन्य पदको मतगणना पनि निर्धारित समयअनुसार अघि बढाइनेछ।समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ बजेदेखि महिला तथा खुला समूहका सहमहामन्त्री र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना गर्ने कार्यक्रम छ।
त्यस्तै, दिउँसो १२ बजेदेखि आदिवासी जनजाति समूहअन्तर्गत सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिनेछ।मतगणना कांग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको छ। निर्वाचन समितिले सम्बन्धित उम्मेदवारलाई तोकिएको समयअनुसार उपस्थित हुन आग्रह गरेको छ।समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले बढीमा दुई जना प्रतिनिधि राख्न पाउनेछन्। तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने मतगणनास्थलमा आफैँ मात्र उपस्थित हुन पाउने व्यवस्था गरिएको छ।
