काठमाडौं ।रसुवाको टिमुरे क्षेत्रमा लामो समयदेखि विद्युत् आपूर्ति प्रभावित भएपछि नेपाल टेलिकमले टेलिफोन सेवा सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रणाली प्रयोगमा ल्याएको छ।
टिमुरे–खैदी क्षेत्रमा रहेको टेलिकमको टावरमा १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरिएको हो।गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि विद्युत् सेवा अवरुद्ध हुँदा टेलिकमको टावर डिजेल जेनेरेटरको भरमा सञ्चालन हुँदै आएको थियो। टावर चलाउन आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत पुर्याउनुपर्ने अवस्था बनेपछि दीर्घकालीन विकल्पका रूपमा सोलार प्रणाली जडान गरिएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी सोलार प्रणाली जडान गरिएको हो। प्रणाली सञ्चालनमा आएपछि विद्युत् सेवा उपलब्ध नभए पनि टिमुरे क्षेत्रमा टुजी र फोरजी मोबाइल सेवा निरन्तर सञ्चालन गर्न सहज भएको छ।बाढीका कारण रसुवालगायत प्रभावित जिल्लामा दूरसञ्चारका विभिन्न पूर्वाधारमा समेत असर परेको थियो। टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल तथा टेलिफोन सेवा सञ्चालन गर्न जेनेरेटरमा निर्भर हुनुपरेको थियो।
अब सोलार प्रणालीबाट वैकल्पिक ऊर्जा उपलब्ध भएपछि टावर सञ्चालनका लागि डिजेल नियमित रूपमा ढुवानी गर्नुपर्ने बाध्यता कम भएको छ। यसले स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई मोबाइल तथा इन्टरनेट सेवा निरन्तर उपलब्ध गराउन सहयोग पुग्ने नेपाल टेलिकमको भनाइ छ।