काठमाडौं ।कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम सडक दुर्घटनामा गम्भीर घाइते भएकी छन्।
आइतबार रमाइलो बजारमा स्कुटरमा यात्रा गरिरहेका बेला उनी दुर्घटनामा परेकी हुन्।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार अध्यक्ष इङ्नाम सवार स्कुटरलाई सिटी सफारीले ठक्कर दिएको थियो। दुर्घटनामा उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो।दुर्घटनापछि तत्काल उद्धार गरी उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा मेरुदण्डमा गम्भीर समस्या देखिएपछि चिकित्सकले आकस्मिक शल्यक्रिया गरेका थिए।
चिकित्सकका अनुसार समयमै शल्यक्रिया नगरे थप जटिलता तथा पक्षघातको जोखिम हुन सक्ने अवस्था देखिएपछि तत्काल उपचार अघि बढाइएको हो।शल्यक्रियापछि अध्यक्ष इङ्नामलाई अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिएकी छन्। दुर्घटनाको खबर पाएपछि स्थानीय जनप्रतिनिधि, शुभेच्छुक तथा समर्थकहरू अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।