काठमाडौं ।पाल्पाको माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
आइतबार बिहान गएको पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको हो। घटनास्थलबाट उनको शव निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।पहिरोमा लिलबहादुरकी १७ वर्षीया छोरी दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती मगर बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ।निरन्तरको वर्षाका कारण पहिरोको जोखिम बढिरहेका बेला सुरक्षाकर्मीले सावधानीपूर्वक खोजी तथा उद्धार कार्य अघि बढाइरहेका छन्।