काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन्।
आइतबार कार्यदलको बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने वा उनको आलोचना गर्ने विषय नराख्ने सहमति भएको दाबी गरे। उनका अनुसार पार्टीभित्र विभिन्न प्रस्ताव र धारणाहरू आएपछि ती सबैलाई समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन जना नेताहरूलाई दिइएको थियो। सोही आधारमा तयार भएको एकीकृत प्रतिवेदनमाथि कार्यदलमा छलफल गरिएको उनले बताए।
बस्नेतले एमाले विभाजन होस् भन्ने चाहना राख्नेहरू पनि रहेको उल्लेख गर्दै पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए। उनले अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय प्रतिवेदनमा नराख्ने सहमति भएको दोहोर्याए। बस्नेतका अनुसार पार्टीको एकता सुदृढ भएको सन्देश दिने गरी संगठनलाई थप सक्रिय र जुझारु बनाउने तथा राष्ट्रिय परिषद्को बैठक बोलाउने सहमति पनि भएको छ। उक्त बैठकमार्फत वर्तमान सरकारको शैलीविरुद्ध सशक्त आन्दोलन अघि बढाउने विषयमा समेत सहमति भएको उनको भनाइ छ।