काठमाडौं ।अस्ट्रेलियाका चर्चित ओपनर डेबिड वार्नरले यसपटक नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन्।
उनी तेस्रो संस्करणको एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्न दशैँपछि नेपाल आउने भएका हुन्।एनपीएलमा सहभागी हुने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै चर्चित अन्तर्राष्ट्रिय खेलाडीका रूपमा नेपाल आउने भएका हुन्। अस्ट्रेलियाले सन् दुई हजार पन्ध्र र दुई हजार तेइसमा एकदिवसीय विश्वकप तथा दुई हजार एक्काइसमा टी–२० विश्वकप जित्दा वार्नर टोलीका महत्वपूर्ण सदस्य थिए। दुई हजार एक्काइसको टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए।
काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाका अनुसार वार्नरलाई टोलीमा ल्याउन लामो समयदेखि छलफल र प्रयास गरिएको थियो। उनले वार्नरजस्तो विश्वस्तरीय खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्दै त्रिवि क्रिकेट मैदानमा खेल्ने अवसर पाउनु आफूहरूका लागि विशेष उपलब्धि भएको बताएका छन्।वार्नरले अस्ट्रेलियाका लागि एक सय बाह्र टेस्ट, एक सय एकसट्ठी एकदिवसीय र एक सय दस टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। तीनवटै प्रारूपमा उनले ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। टेस्टमा उनको नाममा आठ हजार सात सय ८६ तथा एकदिवसीय क्रिकेटमा छ हजार नौ सय ३२ रन छन्।
सन् दुई हजार उन्नाइसमा पाकिस्तानविरुद्ध एडिलेडमा वार्नरले अविजित तीन सय ३५ रन बनाएका थिए। यो अस्ट्रेलियाली ब्याटरले टेस्ट क्रिकेटमा बनाएको दोस्रो ठूलो व्यक्तिगत स्कोर हो।३९ वर्षीय वार्नरले विश्व क्रिकेटमा उत्कृष्ट ओपनरको पहिचान बनाएका छन्। सबैखाले टी–२० क्रिकेटमा उनले चार सय ३९ खेल खेल्दै एक सय ४० भन्दा बढीको स्ट्राइक रेटमा १४ हजारभन्दा बढी रन बनाइसकेका छन्।
आईपीएलमा वार्नरको यात्रा सन् दुई हजार नौमा दिल्ली डेयरडेभिल्सबाट सुरु भएको थियो। त्यसपछि उनी सनराइजर्स हैदराबादमा पुगे र सन् दुई हजार पन्ध्रमा टोलीको कप्तान बने। सन् दुई हजार सोह्रमा उनले हैदराबादलाई आईपीएलको उपाधि दिलाएका थिए। आईपीएलका सात सिजनमा उनले पाँच सयभन्दा बढी रन बनाएका थिए भने दुई हजार पन्ध्र, दुई हजार सत्र र दुई हजार उन्नाइसमा प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बने।काठमान्डु गोर्खाजले वार्नरअघि श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।