काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात सम्पर्कविहीन बनेको रसुवाको आमाछोदिङमो गाउँपालिकाबाट सुत्केरी महिला र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङले स्थानीय स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएपछि आमा र बच्चा दुवैमा स्वास्थ्य जटिलता देखिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई तत्काल हवाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता दावागोम्बो तामाङले जानकारी दिएका छन्।उद्धारपछि आमा र नवजात शिशुलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार तामाङलाई समयअगावै प्रसूति व्यथा लागेपछि अस्पताल ल्याइएको हो। उनी ३३ हप्ता ५ दिनको गर्भावस्थामा थिइन् र दोस्रो सन्तान जन्माउने क्रममा रहेकी थिइन्।हाल उनलाई अस्पतालको एन्टीनेटल केयर वार्डमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ। अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीका अनुसार उनको अवस्थाको थप मूल्याङ्कनका लागि भिडियो एक्सरेसहित आवश्यक परीक्षण तथा रिपोर्ट संकलन गरी उपचार अघि बढाइएको छ।भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आमाछोदिङमो गाउँपालिकाको यातायात सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा हवाई उद्धार महत्वपूर्ण माध्यम बनेको छ।