काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण २१७ जना विद्यार्थी र १५ जना शिक्षक अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार रसुवा, नुवाकोट र धादिङका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकहरू सम्पर्कमा आउन नसकेका हुन्।
बाढीका कारण प्रभावित क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका भवन, कक्षाकोठा तथा अन्य भौतिक पूर्वाधारहरूमा पूर्ण र आंशिक रूपमा ठूलो क्षति पुगेको छ। शिक्षा विभागले जिल्लागत रूपमा शैक्षिक पूर्वाधारमा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन र अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ। क्षतिको यकिन तथ्याङ्क प्राप्त भएपश्चात् मन्त्रालयले राहत, पुनःस्थापना र विद्यालय पुनःनिर्माणका विशेष कार्यक्रमहरू अघि बढाउने रणनीति बनाएको छ।
यसैबिच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा विद्यालय पुनःनिर्माण गर्दा ‘ठूला विद्यालय’ को अवधारणाअनुसार अगाडि बढ्ने योजना बनाएको छ। मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, पुनःस्थापना र आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूहका प्रतिनिधिहरूसँग गहन छलफल गरेको छ।
बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रका विद्यालयहरूको पुनःनिर्माण गर्दा आवासीय सुविधा र विद्यालय बसको व्यवस्थासहितका एकीकृत तथा ठूला विद्यालय बनाउनु उपयुक्त हुने बताएका छन्। छरिएर रहेका साना विद्यालयहरूलाई एकीकृत गरी उच्च प्रविधियुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्दा विपद्का समयमा शैक्षिक क्षति न्यूनीकरण गर्न सकिने मन्त्रालयको निष्कर्ष छ।