काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले होटल व्यवसाय बन्द गराउने वा होटललाई ग्यास उपलब्ध नगराउने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ।
बिहीबार मन्त्रालयमा होटल व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले सडक अवरोधका कारण ग्यासका बुलेट भित्र्याउन कठिनाइ भइरहेको बताउँदै ग्यास वितरणमा भने सर्वसाधारणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले होटल व्यवसायीलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभयो। कृष्णभीरमा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यासको आयात र ढुवानी प्रभावित भएको भन्दै होटल व्यवसायीले आवश्यक परे आफैँ ग्यास आयात गर्न सक्ने उहाँको भनाइ थियो।
ग्यास आयातका क्रममा सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको मन्त्री यादवले बताउनुभयो। होटल तथा व्यावसायिक प्रयोजन र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डरको व्यवस्था गर्ने काम मन्त्रालय र नेपाल आयल निगमले अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो। छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले बढी रकम तिरेपछि मात्रै ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गर्नुभयो। ग्यासको सहज आपूर्ति हुन नसके त्यसको प्रत्यक्ष असर नेपालको समग्र पर्यटन क्षेत्रमा पर्ने उहाँले बताउनुभयो। त्यस्तै नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यासको आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीले समेत आवश्यक सवारीसाधनको व्यवस्था गरी ढुवानीमा सहयोग गर्न आग्रह गर्नुभयो।