काठमाडौं । नेपाली सेनाले रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीमा परेर सम्पर्कविहीन भएका सैनिकका परिवारसँग सेनाले सम्पर्क गरिसकेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा आसपासका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका ४५ जना सैनिक सम्पर्कविहीन भएका छन्। सेनाले उनीहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ। जङ्गी अड्डाका अनुसार रसुवाको टिमुरेदेखि नवलपुरसम्म विभिन्न स्थानमा परिचालित सैन्य टोलीलाई सम्पर्कविहीन सैनिक तथा अन्य नागरिकको अवस्थाबारे जानकारी संकलन गर्दै खोज तथा उद्धारमा केन्द्रित गरिएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बने पनि सम्पर्कविहीन सैनिकको खोजीलाई प्राथमिकतामा राखेर टोली परिचालन गरिएको सेनाले जनाएको छ।