काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण सडक तथा आपूर्ति प्रणाली प्रभावित भएपछि बजारमा खाद्यान्न र खाना पकाउने ग्यासको अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सरकारले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि काठमाडौं उपत्यकामा विशेष अनुगमन अभियान सञ्चालन गर्ने तयारी गरेको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा १० वटा छुट्टाछुट्टै टोली परिचालन गरिनेछ।विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार हाल चार टोलीले बजारको निरीक्षण गरिरहेका छन्। अब सम्बन्धित मन्त्रालयबाट थप कर्मचारीसमेत परिचालन गरेर करिब ४० जनालाई १० टोलीमा विभाजन गरी अनुगमनमा खटाइनेछ। त्यसका लागि उपत्यकालाई १३ वटा क्षेत्रको रूपमा विभाजन गरिएको छ।बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा पछिल्ला दिनमा खाद्यान्न ढुवानी प्रभावित भएको विभागको भनाइ छ। आपूर्ति प्रभावित हुने आशंकामा केही उपभोक्ताले आवश्यकता भन्दा बढी सामान सञ्चित गर्न थालेकाले बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिमसमेत देखिएको छ।विभागले मौज्दात लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्ताबाट बढी मूल्य असुल्ने व्यवसायीमाथि निगरानी बढाउने जनाएको छ।
सूचना अधिकारी किराँतीका अनुसार अहिले बजारमा बिक्री भइरहेका अधिकांश वस्तु पुरानै लागत र ढुवानी खर्चमा ल्याइएका हुन्। नयाँ ढुवानीको लागत वा भाडादर नबढेको अवस्थामा पुरानो मौज्दातलाई बढेको मूल्यमा बिक्री गर्न नमिल्ने विभागको स्पष्ट धारणा छ।उनले हालैका दिनको खरिद तथा बिक्री मूल्यको अभिलेख जाँच गरिने र लागतभन्दा अस्वाभाविक रूपमा बढी मूल्य लिएको पाइएमा सम्बन्धित व्यवसायीमाथि तत्काल कानुनी कारबाही गरिने बताए।विभागले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न तथा ग्यास सञ्चित नगर्न र अस्वाभाविक मूल्य असुल्ने वा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीबारे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।