काठमाडौं ।भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
चक्रवातबाट राज्यका ७१४ गाउँ प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।बुधबार, २८ अक्टोबरमा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा गराएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात बिहान करिब १:२० बजे काकीनाडानजिकै जमिनतर्फ प्रवेश गर्न थालेको थियो। उक्त क्षेत्र यानमको दक्षिणतर्फ तथा बापटला र विशाखापट्टनमको बीचमा पर्छ।
चक्रवातको प्रभावले आन्ध्र प्रदेशका विभिन्न स्थानमा घरका छाना उडेका छन् भने रूख र विद्युत्का खम्बा ढलेका छन्। तटीय क्षेत्रका होचा भूभागमा डुबान भएको छ। ओडिशाका दक्षिणी जिल्लाहरूमा समेत भारी वर्षा र तीव्र हावाहुरीको असर देखिएको छ। प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको जनाइएको छ।
कमजोर हुँदै चक्रवात
चक्रवातको प्रभाव उत्कर्षमा पुग्दा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। हावाको झोक्का भने प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।जमिनमा प्रवेश गरेपछि चक्रवातको शक्ति घट्न थालेको छ। मौसमसम्बन्धी पूर्वानुमानअनुसार यसको तीव्रता क्रमशः कम हुँदै सामान्य चक्रवाती प्रणाली र त्यसपछि गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुन सक्नेछ।चक्रवातसँग सम्बन्धित बादल तथा वायुमण्डलीय प्रणालीको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्हरूले बताएका छन्। यसका कारण आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव बुधबारदेखि देखिन सक्नेछ। बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य केही स्थानमा वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसममा प्रतिकूलता आउन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्नेछ। हिमाली क्षेत्रमा पुगिसकेका व्यक्तिलाई मौसमको अवस्था बुझेर सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण यात्रा नगर्न मौसमविद्ले सुझाव दिएका छन्।