काठमाडौं ।नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सीमा व्यवस्थापन तथा सुरक्षा सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।
बुधबारदेखि सुरु भएको १०औँ बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।बैठकमा भारतीय सशस्त्र सीमा बल एसएसबी का महानिर्देशक सञ्जय सिंघलले भारतीय टोलीको नेतृत्व गरेका छन् भने नेपालको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्।बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागुऔषध ओसारपसार रोकथाम र अवैध हातहतियारको कारोबार नियन्त्रणका विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ। साथै, दुवै देशका सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।
नेपालका तर्फबाट गृह तथा परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन्। भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास तथा एसएसबीका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।बैठकमा दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका प्रयासबारे समीक्षा गरिनेछ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल हुनेछ।
त्यसैगरी, खुला सिमानाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमन नियमन गर्ने तथा सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने विषयमा दुवै पक्षबीच विचारविमर्श हुने जनाइएको छ।