काठमाडौँ । अष्ट्रेलियाको डार्विनमा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ को सामना गर्दै छ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने दुई टोलीबीचको यो खेल नेपाली समयअनुसार अपराह्न १ः१५ बजे सुरु हुने तालिका रहेको छ।
प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल ‘ए’ टोली आजको खेल जित्दै सिरिजको सुखद अन्त्य गर्ने रणनीतिमा छ। हालसम्म खेलेका ५ खेलमध्ये २ मा जित र ३ मा हार व्यहोरेको नेपाल ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ।
जारी सिरिजमा नेपाल ‘ए’ ले सुरुआती खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट र बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग ९ विकेटको फराकिलो पराजय भोगेको थियो। त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गर्दै होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई ४ विकेटले पराजित गरेको थियो। तर, पाँचौँ खेलमा हैदरावाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो। नेपाल ‘ए’ ले आज भिक्टोरिया सिए–११ लाई हराएर सिरिजमा तेस्रो जित हात पार्दै यात्रा टुङ्ग्याउन चाहन्छ।