काठमाडौँ । कुनै समय तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीचको भिडन्तका कारण चर्चामा रहेको पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटकको आवागमन बढ्नुका साथै पर्यटन क्षेत्रमा लगानीसमेत विस्तार हुन थालेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने वसन्तपुर डाँडामा चार वर्षदेखि लुम्बिनी केबुलकार सञ्चालनमा छ। यसले बुटवलबाट पैदल यात्रा गरेर पुग्नुपर्ने दूरीलाई छोट्याएको छ। पहिले करिब दुई घण्टा पैदल हिँडेर पुगिने स्थानमा अहिले केबुलकारबाट करिब आधा घण्टामै पुग्न सकिन्छ।
लुम्बिनी केबुलकारका सञ्चालक चन्द्र ढकालका अनुसार पछिल्लो समय यहाँ आउने पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य छ। बुटवलमा गर्मी भए पनि वसन्तपुर डाँडामा चिसो वातावरणको आनन्द लिन पाइने भएकाले भारतीय पर्यटक आकर्षित भइरहेको उनले बताएका छन्। पर्यटनलाई थप विस्तार गर्ने उद्देश्यले करिब छ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न तारे होटल निर्माण तथा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ। ढकालका अनुसार होटलका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ। क्यासिनोसहितको होटल सञ्चालनमा आएपछि वसन्तपुरको पर्यटकीय गतिविधि अझ बढ्ने अपेक्षा गरिएको छ।
यस क्षेत्रलाई होटल, क्यासिनो, जीप पार्कलगायत विभिन्न सुविधा समेटिएको एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइएको छ। स्थानीयवासी लक्ष्मण गौतम, तेजप्रसाद सुनारसहित पाँच जनाको समूहले सुरुमा केबुलकारको अवधारणा अघि सारेको थियो। पछि चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई ग्रुपले परियोजना निर्माणको जिम्मेवारी लिएको थियो। निर्माण कार्य दुई वर्षमा सम्पन्न भएपछि विसं २०८० जेठ १५ देखि केबुलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। लुम्बिनी केबुलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेका अनुसार केबुलकार यात्राका क्रममा जङ्गलमा घोरल, चित्तललगायत वन्यजन्तु देख्न सकिन्छ। प्राकृतिक वातावरण र वन्यजन्तुको दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको उनले बताएका छन्।
वसन्तपुर डाँडाको विशेषता प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। सशस्त्र द्वन्द्वकालीन घटनाको साक्षी बनेको यस क्षेत्रको ऐतिहासिक महत्त्व पनि छ। द्वन्द्वकालमा यहाँ पुगेका भैरहवाका पत्रकार दीपेन्द्र बडुवालले विगतको घटनासँग जोडिएको स्थानको स्वरूप परिवर्तन हुँदै पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु सकारात्मक भएको बताएका छन्। उनले द्वन्द्वकालमा सेनाले गोली चलाउँदा ढुङ्गाको आड लिएर जोगिनुपरेको र डाँडामा बसेर खाजा खाएको घटना स्मरण गरेका छन्। द्वन्द्वकालीन इतिहासलाई संरक्षण गरेर पर्यटकीय गतिविधिसँग जोड्न सके त्यसले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उनको विश्वास छ।
वसन्तपुर डाँडाको माथिल्लो केबुलकार स्टेशनमा रहेको कामाख्या देवीको मन्दिर र लामो समयदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिर पनि धार्मिक पर्यटकका आकर्षण हुन्। यी दुवै मन्दिरको पुनर्निर्माण गरिएको छ। कामाख्या देवीको दर्शन गर्दा मनोकामना पूरा हुने तथा सांसारिक बन्धनबाट मुक्ति मिल्ने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन यहाँ पुग्ने गरेका छन्। पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेस्टुराँ र ज्वाइन्ट स्विङजस्ता पूर्वाधार निर्माण गरिएका छन्। यहाँबाट बुटवल, तिलोत्तमा र भैरहवासम्मको दृश्यावलोकन गर्न सकिन्छ भने मौसम सफा भएका बेला हिमशृङ्खलासमेत देख्न पाइन्छ।
लुम्बिनी केबुलकारका अनुसार सञ्चालनमा आएको तीन वर्षको अवधिमा पाँच लाखभन्दा बढी पर्यटकले सेवा लिएका छन्। तीमध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक रहेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष भारतीय पर्यटकको आगमन २५ प्रतिशतले बढेको जनाइएको छ। भारतका आन्ध्र प्रदेश, झारखण्ड, बिहार र केरलालगायतका क्षेत्रबाट पर्यटक वसन्तपुर आउने गरेका छन्।
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पनि वसन्तपुर पुग्दा द्वन्द्वकालीन घटनाको स्मरण हुने बताएका छन्। विगतमा स्थलमार्गबाट पुग्नुपर्ने यस स्थानमा अहिले केबुलकारको सुविधा उपलब्ध भएकाले यात्रा सहज हुनुका साथै पर्यटकले प्राकृतिक सौन्दर्यको आनन्द लिन पाएको उनको भनाइ छ। ऐतिहासिक स्मृति, धार्मिक आस्था, प्राकृतिक सुन्दरता र आधुनिक पर्यटकीय पूर्वाधारको संयोजनका कारण वसन्तपुर डाँडा पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।