काठमाडौं । नेपाली कला, संस्कृति र परम्परालाई जोगाउँदै विदेशमा पनि यसको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले यस वर्ष अस्ट्रेलियाका सबै राज्यमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीलाई आफ्नो मौलिक संस्कृति र चाडपर्वसँग जोडिराख्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ। यसले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन समितिका सभापति सितल गिरीले अस्ट्रेलियामा रहेका सम्पूर्ण पदाधिकारी, सदस्य, राज्य तथा क्षेत्रीय समितिका प्रतिनिधिलाई तयारीमा जुट्न आग्रह गरेका छन्। उनले नेपाली समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
विदेशमा बस्दैमा आफ्नो भाषा, संस्कृति र परम्परा बिर्सन नहुने उल्लेख गर्दै सभापति गिरीले नेपाली मौलिक पहिचानको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका छन्। उनका अनुसार देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रमले नेपालीहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे बुझ्ने अवसरसमेत प्रदान गर्छन्। यसैक्रममा, अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) राज्यअन्तर्गत सिड्नीको रकडेलमा आगामी नोभेम्बर ९ मा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाइने समितिले जनाएको छ।
अस्ट्रेलियाका अन्य राज्यमा पनि कार्यक्रम आयोजना गरिने भए पनि त्यसको मिति र समय भने पछि सार्वजनिक गरिने जनाइएको छ। सबै राज्यमा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सभापति गिरीले सम्बन्धित समितिहरूलाई समयमै तयारी पूरा गर्न आग्रह गरेका छन्। उनले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीलाई देउसी–भैलो कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा साथ दिनसमेत अनुरोध गरेका छन्।