काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धार्मिक यात्राका लागि शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत गएका छन्। उनी पत्नी निकिता पौडेलसहित स्थलमार्गबाट भारत प्रस्थान गरेका हुन्।
लामिछानेको भ्रमणमा भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल कैँचीधाममा दर्शन गर्ने कार्यक्रम छ। तीन दिनको तीर्थयात्राका क्रममा उनले गुवाहाटीस्थित कामाख्या मन्दिरमा समेत पूजाआजा गर्ने रास्वपाका सचिवालय सदस्य तथा सांसद दीपकराज बोहराले जानकारी दिएका छन्। भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल र सांसद बोहरा पनि सहभागी छन्। टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन्।
धनगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत र धार्मिक उद्देश्यले हुन लागेको स्पष्ट पारे। उनले यो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताए। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न आफू तीर्थयात्रामा जान लागेको उल्लेख गर्दै उनले आफ्नो भ्रमणलाई लिएर अनावश्यक राजनीतिक अड्कलबाजी नगर्न आग्रह गरे। ‘पहिलेदेखि नै जाने सोच थियो। यो धार्मिक भ्रमण हो, कुनै राजनीतिक भेटघाट छैन,’ उनले भने, ‘कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु। मेरो भ्रमणका नाममा कसैले पनि खिचडी नपकाउनू।’