काठमाडौँ ।कास्की जिल्लामा गत असोज महिनामा भएका सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने १०१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार एक महिनाको अवधिमा जिल्लाभर ५९ वटा सवारी दुर्घटना भएका हुन्। अन्य महिनाको तुलनामा असोजमा दुर्घटनाको सङ्ख्या बढी देखिएको छ। प्रहरीका अनुसार ती दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार कास्कीमा सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ। असोज महिनामा तीव्र गतिका कारण मात्रै २० वटा दुर्घटना भएका छन्। गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थी र एक गरी छ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा अन्य १५ जना घाइते भएका थिए। प्रहरीका अनुसार चालकको लापरवाही र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढिरहेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा दुर्घटना भएका छन्। सवारी चालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एक र अन्य कारणले २३ वटा दुर्घटना भएका छन्। यसैबीच, असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध प्रहरीले चार हजार ७८५ वटा कारबाही गरेको छ। उक्त कारबाहीबाट तीन करोड ९९ लाख होइन, ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटनाबाहेक असोज महिनामा कास्कीमा विभिन्न विपद्का घटनाबाट पनि मानवीय तथा भौतिक क्षति भएको छ। सुक्खा पहिरोमा परेर दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त अवधिमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका थिए। अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीनवटा चौपाया मरेका छन्। प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा प्रहरीले सातवटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ। उक्त कारबाहीबाट एक लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ।