काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
नेपाल प्रहरीले बुधबार राति ११ बजेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको जनाएको छ। बाढीले बगाएका शव रसुवादेखि तल्लो तटीय क्षेत्र हुँदै विभिन्न जिल्लामा फेला परिरहेका छन्। प्रहरीले दिएको विवरणअनुसार चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव भेटिएको छ। बाढीका कारण नेपाल प्रहरीका २८ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। त्यस्तै, उद्धारमा खटिएका नेपाली सेनाका ४४ र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कबाहिर रहेको जनाइएको छ।
घटनामा घाइते भएका ४१ जनाको काठमाडौंसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीका कारण स्थानीयवासी, सुरक्षाकर्मी, कर्मचारी तथा पर्यटकसमेत प्रभावित भएका छन्। हालसम्म ३९१ जना विदेशी र ९३ जना नेपाली गरी ४८४ जना पर्यटक सम्पर्कविहीन रहेको पुष्टि भएको छ। यस्तै, जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन्। रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारीसमेत सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको लेदोसहितको ठूलो बाढीले तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो। बाढीले १९ वटा मोटरेबल पुल बगाउनुका साथै करिब ४० किलोमिटर पक्की सडकमा समेत ठूलो क्षति पुर्याएको जनाइएको छ।