काठमाडौँ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पालिएका पशु चौपायमा रेविज संक्रमण पुष्टि भएको छ।
रत्ननगर नगरपालिका–९ र १० मा पालिएका जर्सी गाईको नमूना परीक्षण गर्दा रेविज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालयले जनाएको छ।पशु सेवा कार्यालयका प्रमुख डा। प्रभात न्यौपानेका अनुसार रेविज संक्रमित गाईभैँसीमा अत्यधिक र्याल काड्ने, टाउको भित्तामा ठोक्ने, मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने, पानी र घाँस खान नखोज्ने, दूध उत्पादन घट्ने तथा अन्ततः मृत्यु हुनेजस्ता लक्षण देखिन्छन्।कुकुर र बिरालोलाई नियमित रूपमा रेविजविरुद्धको खोप लगाउने गरिए पनि अन्य पशु चौपायामा खोप लगाउने प्रचलन कम भएकाले संक्रमणको जोखिम बढेको पशु चिकित्सकहरूले बताएका छन्। संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा पालिएका पशु चौपायालाई रेविजविरुद्धको खोप लगाउन थालिएको छ।रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरपालिकाका वडा नं। ९, १० र १६ मा रेविज संक्रमण देखिएको छ। पशुहरूको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको छ। चालु आर्थिक वर्षमा हालसम्म चारवटा नमूना संकलन गरिएकोमा दुईवटामा संक्रमण पुष्टि भइसकेको र थप दुईवटा नमूना परीक्षणका लागि पठाउने तयारी भइरहेको उनले बताइन्।
उनका अनुसार रेविजको लक्षण देखिएको करिब नौदेखि १० दिनभित्र संक्रमित पशुको मृत्यु हुने गरेको छ। जंगल तथा बस्ती आसपासका क्षेत्रमा न्याउरी मुसा र स्यालजस्ता जंगली जनावरको टोकाइबाट पशुमा रेविज सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।रेविज संक्रमण देखिएका क्षेत्रमा पशु तथा मानिसलाई समेत रेविजविरुद्धको खोप दिन थालिएको नगरपालिकाले जनाएको छ। कुकुर तथा जंगली जनावरको टोकाइबाट मानिस र अन्य जनावरमा सर्ने यो रोग लाइसा भाइरसका कारण हुने गर्दछ।पशु चिकित्सकहरूले जंगली जनावरको आवतजावत हुने क्षेत्र तथा जंगल आसपासका किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। कुनै जनावरले टोकेमा वा चिथोरेमा प्रभावित स्थानलाई तत्काल कम्तीमा १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुन तथा चिकित्सकको सल्लाहअनुसार तुरुन्तै रेविजविरुद्धको खोप लगाउन सुझाव दिइएको छ।त्यस्तै, घरपालुवा कुकुर तथा बिरालोलाई प्रत्येक वर्ष नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन, असामान्य व्यवहार देखाउने पशुलाई मानिस तथा अन्य जनावरबाट टाढा सुरक्षित स्थानमा राख्न र त्यस्ता लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पशु चिकित्सकहरूले आग्रह गरेका छन्।