काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि कडा कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद क्षेत्रीले संसद् र सरकारमा महिलाको सहभागिता बढे पनि महिलामाथि हुने हिंसा, दुर्व्यवहार र अपराधका घटना अझै रोकिन नसकेको बताइन्। उनले घरपरिवारदेखि सार्वजनिक यातायात, सडक, सामाजिक सञ्जाल र संसद्सम्म महिलाले विभिन्न किसिमका हिंसा र विभेद भोग्नुपरेको उल्लेख गरिन्। जन्मिनुअघि नै छोरी भएकै कारण भ्रूण हत्या हुनेदेखि बालिका तथा महिलामाथि हुने हत्या, बलात्कार, दाइजो हिंसा लगायतका घटनाले समाजको अवस्था गम्भीर रहेको उनको भनाइ थियो।
‘छोरी हुनु नै पापजस्तो बनाइएको छ। हामीले संविधान मात्रै हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि व्यवहारमै सुनिश्चित गर्ने?’ उनले प्रश्न गरिन्। क्षेत्रीले सबै अपराधको प्रकृति र गम्भीरता समान नहुने भएकाले अपराधको गम्भीरताअनुसार सजाय निर्धारण गरिनुपर्ने बताइन्। उनका अनुसार सामान्य अपराध र बलात्कारजस्ता जघन्य अपराधलाई एउटै दृष्टिले हेर्नु न्यायोचित हुँदैन। उनले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसामा संलग्न अपराधीलाई कडा कानुनी कारबाहीको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। अपराध गरेपछि हुने सजायको डरले अपराध गर्ने सोच नै नआउने गरी कानुनलाई प्रभावकारी र बलियो बनाउनुपर्ने उनले बताइन्। सांसद क्षेत्रीले महिलामाथि हुने हिंसा अन्त्य गर्न संविधानमा सुनिश्चित गरिएका अधिकारलाई कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।