काठमाडौं । वैदेशिक शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती, अवसर तथा नीतिगत सुधारका विषयमा सरोकारवालाबीच छलफल गर्न आयोजित ‘एडुक्लेभ ४.० काठमाडौं–द पोलिसी डायलग’ कार्यक्रम राजधानीमा सुरु भएको छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र वनअपको संयुक्त आयोजनामा काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा कार्यक्रम भइरहेको हो। आज बिहान ८ः३० बजेबाट सुरु भएको कार्यक्रममा शिक्षा क्षेत्र तथा विदेश अध्ययनसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको छ।
कार्यक्रममा विदेश शिक्षा क्षेत्रको पछिल्लो अवस्था, विद्यार्थीको विदेश अध्ययन प्रवृत्ति, शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित नीति तथा नियमन र यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल भइरहेको छ।
विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थी, शैक्षिक परामर्श व्यवसाय, सम्बन्धित शैक्षिक संस्था तथा नीतिनिर्माण तहबीचको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कार्यक्रममा विचार–विमर्श हुने आयोजकले जनाएको छ।
विदेश शिक्षासँग जोडिएका विभिन्न पक्षबीच प्रत्यक्ष संवाद र अनुभव आदानप्रदानका लागि आयोजना गरिएको एडुक्लेभ ४.० लाई विदेश शिक्षा क्षेत्रका समसामयिक विषयमा नीतिगत बहस गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।
कार्यक्रममा प्रायोरी एजुकेसन फाउन्डेसन र शिलर इन्टरनेसनल युनिभर्सिटी सहकार्यमा रहेका छन्। आयोजकका अनुसार कार्यक्रमले विदेश शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन आवश्यक नीतिगत बहस अघि बढाउने उद्देश्य राखेको छ।