काठमाडौँ । सरकारले रसुवा–भोटेकोशी बाढी लगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रमको घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा सोमबार उक्त विशेष शैक्षिक राहत कार्यक्रमको औपचारिक घोषणा गरे ।
घोषित योजनाअन्तर्गत बाढी तथा विपद्बाट प्रभावित विद्यार्थीहरूलाई आवासीय सेवासहित पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्था गरिनेछ। छात्रवृत्ति वितरणमा दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ भने एक जना अभिभावक गुमाएका तथा विपन्न परिवारका विद्यार्थीहरूलाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकतामा राखिने मन्त्री पोखरेलले जनाए । प्रभावित विद्यार्थीहरूलाई उनीहरूकै गृह जिल्लामा वा उपयुक्त होस्टेलको पहिचान गरी अध्ययनको प्रबन्ध मिलाइने मन्त्रालयले जनाएको छ।
यो कार्यक्रमको सुरुवातमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), प्याब्सन, एनप्याब्सन, ओपिन र नेपाल मन्टेश्वरी सङ्घले सरकारसँग सहकार्य गरेका छन्। सरकारले अन्य निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूलाई पनि यस परोपकारी अभियानमा जोडिन आह्वान गरेको छ। यो ढाँचा हालको बाढीपीडितका साथै भविष्यमा आउनसक्ने यस्तै विपद्का कारण शिक्षा जोखिममा परेका बालबालिकाको हकमा पनि निरन्तर लागू हुने बताइएको छ।
शिक्षा मन्त्रालयको प्रारम्भिक द्रुत सर्वेक्षण अनुसार भोटेकोशी बाढीपछि २८ जना शिक्षक र ५ सयभन्दा बढी विद्यार्थीहरू अझै सम्पर्कविहीन रहेका छन्। बाढीका कारण कुनै पनि बालबालिकाको शैक्षिक भविष्य अन्धकार नहोस् भन्ने उद्देश्यका साथ यो छात्रवृत्ति योजना कार्यान्वयनमा ल्याइएको हो।