काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद सिर्जना भए पनि त्यसलाई आन्तरिक रूपमा सम्हाल्दै अघि बढ्ने बताएका छन्।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बुधबारको छलफल औपचारिक संसदीय दलको बैठक नभई संसद्मा पार्टीको प्रस्तुति र सांसदहरूको भूमिकालगायत विषयमा केन्द्रित आन्तरिक छलफल भएको बताए। उनका अनुसार संसद्मा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन्, उनीहरूले उठाउने विषय र त्यसको शैलीबारे समीक्षा गरिएको थियो। आम नागरिकस्तरबाट समेत सांसदहरूको प्रस्तुति र अभिव्यक्तिबारे प्रश्न उठ्न थालेकाले यस विषयमा थप समझदारीका साथ अघि बढ्ने विषयमा छलफल भएको उनले बताए। लामिछानेले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा कहिलेकाहीँ कुनै सदस्यको अभिव्यक्ति विवादमा पर्न सक्ने बताए। त्यस्ता विषयलाई पार्टीले आवश्यक रूपमा सम्बोधन गर्दै अघि बढ्ने उनको भनाइ थियो।
उनले संसद्को मर्यादा कायम राख्दै जनताका दैनिक जीवनसँग जोडिएका विषयलाई प्रभावकारी रूपमा उठाउन सांसदहरूलाई केन्द्रित गरिने बताए। सरकार, मन्त्रालय तथा मन्त्रीहरूका कामकारबाहीबारे पार्टीभित्र रहेका प्रश्न र असन्तुष्टिका विषयमा समेत छलफल भएको उनले जानकारी दिए। यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई लामिछानेले अस्वीकार गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा पत्रकारले प्रश्न गरेपछि लामिछानेले त्यसलाई प्रधानमन्त्रीको कवि तथा कलाकार व्यक्तित्वसँग जोडेर व्याख्या गरे। उनले प्रधानमन्त्रीले लेखेका हरेक शब्दको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताए। ‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हुनुहुन्छ, हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,’ लामिछानेले भने। प्रधानमन्त्री एक्लै नभएको दाबी गर्दै उनले सरकार र पार्टीबीचको सम्बन्धबारे अनावश्यक रूपमा विवाद सिर्जना गर्न नहुने संकेत गरे। लामिछानेले सञ्चारमाध्यममा आएका समाचारले आफूहरूलाई झनै नजिक ल्याइरहेको भन्दै व्यंग्यसमेत गरे।