काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधानलाई समयानुकूल परिमार्जन गर्न कार्यदल गठन गरेको छ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। कार्यदललाई सात दिनभित्र संशोधित विधानको मस्यौदा तथा आवश्यक कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ। उपनेता पराजुलीका अनुसार संशोधित विधानमार्फत सांसदहरूको भूमिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। संसद्मा उपस्थित हुँदा मर्यादा कायम गर्ने, सांसदहरूको जिम्मेवारी स्पष्ट गर्ने, जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा कानुन निर्माण प्रक्रियामा सांसदहरूको सक्रियता बढाउने उद्देश्यले विधान संशोधन गर्न लागिएको उनले बताए।
बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयअन्तर्गत भएका काम, प्रगति तथा गतिविधिबारे जानकारी गराएका थिए। त्यस क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्या, जनताबाट प्राप्त गुनासा तथा सरकारका कामकारबाहीमा देखिएका कमजोरीबारे धारणा राखेका थिए। सरकारले विभिन्न क्षेत्रमा काम गरिरहेको भए पनि त्यसको प्रभावकारी जानकारी तथा सन्देश आम नागरिकसम्म पुग्न नसकेको विषयमा बैठकमा आत्मसमीक्षा गरिएको पराजुलीले बताए। बैठकमा बजारमा ग्यास आपूर्तिको अवस्थाबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए। उनीहरूले वैशाखमा करिब २२ लाख सिलिन्डर ग्यास बजारमा आपूर्ति भएकोमा साउनमा आपूर्ति बढेर करिब ४० लाख सिलिन्डर पुग्दासमेत बजारमा अभाव किन देखियो भन्ने विषय उठाएका थिए। जवाफमा सम्बन्धित मन्त्रीहरूले ग्यास अभाव हुनुका प्राविधिक तथा व्यवस्थापकीय कारणबारे जानकारी गराउँदै समस्या समाधानका लागि भइरहेका प्रयासबारे बैठकलाई अवगत गराएका थिए।