काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्ने बताएका छन्।
इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपालसहित भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययनरत गृहस्थ विद्यार्थीका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन्। उनले मानव अधिकारको विषयमा नागरिक समाजसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नु आयोगको महत्वपूर्ण जिम्मेवारी रहेको बताए। कुनै व्यक्ति वा समुदायले मानव अधिकार उल्लङ्घन भएको भन्दै उजुरी दिए त्यसको अध्ययन तथा अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने काम आयोगले गर्दै आएको उनले बताए।
नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको कार्यान्वयन अवस्थाको अनुगमन गरी कार्यान्वयनमा कमजोरी देखिए सरकारलाई आवश्यक सुझाव तथा सिफारिस गर्ने काम पनि आयोगले गर्दै आएको अध्यक्ष मगरले जानकारी दिए। त्यस्तै, मुलुकमा रहेका कानुनको अध्ययन तथा अनुसन्धान गरी देखिएका कमीकमजोरी सुधारका लागि सरकारलाई सुझाव दिने गरिएको उनले बताए। आयोगले मानव बेचबिखन, आप्रवासी श्रमिक, जातीय विभेदलगायतका विषयमा अध्ययन गरी विभिन्न प्रतिवेदन सरकारसमक्ष बुझाउँदै आएको अध्यक्ष मगरले बताए। राउते समुदायको अधिकार संरक्षण तथा कुसुन्डा समुदायको भाषा संरक्षणका विषयमा समेत आयोगले अध्ययन र अनुसन्धान गरी प्रतिवेदन तयार गरेको उनले जानकारी दिए।
विदेशमा रहेका नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि आयोगले विभिन्न मुलुकका मानव अधिकार संस्थासँग सहकार्य गर्दै आएको पनि उनले बताए। मलेसिया, कतार र रुसका सम्बन्धित संस्थासँग सहकार्य तथा समझदारी भएको अध्यक्ष मगरको भनाइ छ। रुसमा रोजगारीका लागि पुगेका नेपाली नागरिक बेपत्ता भएको समाचार सार्वजनिक भएपछि त्यहाँका मानव अधिकार संस्थासँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिन पहल गरिएको उनले बताए। अध्यक्ष मगरले मानव अधिकारको क्षेत्रमा चीनसँग सहकार्यको सम्भावना पनि विस्तार हुँदै गएको उल्लेख गरे। चीनमा मानव अधिकारको अवस्था अध्ययनका लागि निमन्त्रणा प्राप्त भएको जानकारी दिँदै उनले अवसर मिले आयोगको टोली चीन पुगेर अध्ययन गर्ने बताए। नेपाल र चीनबीच मानव अधिकारका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्ने इच्छा भए पनि उपयुक्त अवसर जुट्न नसकेको बताउँदै अध्यक्ष मगरले अहिले प्रोफेसर झाङको पहलमा सहकार्यको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले सुरु भएको सहकार्यलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।